संक्षिप्त समालोचना: बदलिएको कर्तब्य र बेजोड बन्ध

प्रवासी नेपाली साहित्यले विस्तारै पुनर्वासित भुटानी समुदायमा जरा गाड्दैछ । साहित्यक पुस्तकहरु निस्कने क्रम निकै बढेको छ । अबको बाटो पाठक खोज्ने हो, स्तरोन्नति गर्ने हो । त्यसका लागि लेखनमा गहनता, विषयमा बौद्धिकता, भाषामा मौलिकता र प्रस्तुतीमा मिठास आवश्यक देखिन्छ । आफन्त र चिनेको आधारमा मात्र पुस्तक किनिदिने पाठकका लागि मात्र साहित्य लेखेर नपुग्ला । आज दुई कथा संग्रहबारे चर्चा गर्ने प्रयास गरेको छु ।

बदलिएको कर्तब्य
गङ्गाराम लामिटारेको जुन २०२२ मा प्रकाशित बदलिएको कर्तव्य हात पर्‍यो । पढ्ने उत्सुकता जाग्यो । पढे । पुस्तकमा १६ वटा लघु कथाहरु र लेखहरु समेटिएका छन् । भूटान, नेपालको शरणार्थी शिविर र अमेरिका पुनर्वास पछिका जीवनवारे कथाहरु कोरिएका छन् । समग्रमा संग्रहले लेखकको परिचय र पृष्ठभूमी स्पष्ट बताउँछ । लेख तथा कथाहरु कम काल्पनिक र धेर तथ्यपरक छन्, सत्य घटनामा आधारित हुन कि भन्ने लाग्छ ।

सृजनाहरुमा विविधता छ । भुटानको प्रजातान्त्रिक आन्दोलन, न्याय प्रणाली, सरकार विरोधीहरुले भोगेका यातना, त्यसले समाजमा सृजना गरेको त्रास र भुटानीहरू देश छोड्नका कारणहरू झल्कन्छन् । दमनले दिएको दु:ख छ, संघर्षले सिकाएको पाठ छ, विस्थापनले सृजेको पीडा छ अनि अस्थिरताले ल्याएको अन्योलता पनि छ । भुटानको पुरातनवादी जीवनशैली, शरणार्थी शिविरमा पाइएका अनेकन दु:ख अनि पुनर्वासका क्रममा र पुनर्वास पछि आईपरेका समस्याहरु र अवसरहरु बारे बुझ्नलाई पुस्तक भर पर्दो श्रोत बन्न सक्छ । लेखकले बाँचेका तीन मुलुक – भुटान, नेपाल र अमेरिका – मा रहेको यौन बारे नितान्त पृथक दृष्टिकोणका विषयमा पनि जानकारी दिन खोजिएको जस्तो देखिन्छ ।

छोटा शीर्षक र सरल भाषाले लेखकको सरलता बारे परिचय दिन्छ । बिषयलाई बुझ्न सजिलो बनाईदिन्छ । भाषिक क्लिष्टता कतै छैन । सामान्य नेपाली पढ्ने सक्नेले पनि पुस्तक पढ्न सक्छ, घरि घरि घोत्लिनु पर्ने वा अर्थ पर्गेल्नु पर्ने केही छैन । तर लेखकले सुधार्नु पर्ने धेरै छन् । मैले केही मात्र उल्लेख गर्ने चाहें यहाँ ।

धेरै सृजनाहरु कथा भन्न लायक छैनन्, निबन्ध वा आत्माकथा जस्ता लागछन् । थोरै मात्र कथा भन्न लायक छन् । पुस्तकलाई कथा संग्रह नभन्दिएको भए न्याय हुन्थ्यो सायद । त्यसो त लेखक स्वयंले संग्रहमा कथा वा अकथाहरु रहन सक्ने स्वीकारेका छन् ।

कथाको मिठास त्यतिखेर आउँछ, जतिखेर पाठकले कथाको पात्रसंगको सामिप्यता कल्पना गर्न सक्छ अर्थात पात्रसंग एकाकार हुन सक्छ । लामिटारेको पुस्तकको पाठकले सृजनाका पात्रसंग साक्षात्कार गर्नै पाउँदैन । लाग्छ पाठक र पात्र विचमा दोभाषे उभिएको छ । धेरै ठाउँमा त्यो दोभाषेको काम लेखक स्वयमले गरेका छन् । अर्थात सृजनाको भाषा तेस्रो पुरुष केन्द्रित छ । यो दोभाषे न भैदिएको भए सुनमा सुगन्ध हुने थियो ।

भाषामा निखार ल्याउन जरुरी देखिन्छ । साहित्य सरल भएर पुग्दैन, सरस पनि हुनु पर्छ । पुस्तकमा समेटिएका लेख र कथाहरु हतारमा लेखिएको जस्तो देखिन्छ । भाषिक त्रुटीहरु प्रशस्त छन् – खासगरि शब्द चयन र हिच्चेमा । समय लाएर सम्पादन गरेको भए यी सामान्य त्रुटीहरु हटाउन सकिन्थ्यो । लेखक भन्दा पनि प्रकाशकले भाषा सम्पादनमा ध्यान नदिएको हो कि ।

कमजोरी भए पनि भुटानी नेपाली साहित्यमा यस पुस्तकको महत्व रहने छ । नयाँ लेखकहरुला लागि पुस्तक प्रेरणास्रोत बनोस, स्रष्टा गङ्गाराम लामिटारेलाई शुभकामना ।
___________

बेजोड बन्ध

‘पुरुषको जात जन्मले र नारीको जात विवाहले तय गर्दछ ।’

‘गाजर-कवि’ कथाको यो वाक्यले मेरो मगज घुमाईदियो । यसले मानव सभ्यताको सिंगो ईतिहास बोलेको छ, समाजमा व्याप्त लैंगिक विभेदबारे तिखो व्यांग्य प्रहार गरेको छ । तर आफूलाई सभ्य ठान्ने समाजको ठूलो हिस्सा यसलाई दैवी ईच्छा मान्छ । गोविन्द रिजालको कथा संगालो ‘बेजोड बन्ध’ हात परेको धेरै भएको थियो – पढ्ने मौका मिलेको थिएन । यसपाली जुराइयो ।

वास्तवमा बेजोड बन्ध’ भुटानी नेपाली साहित्यमा निस्केको अहिले सम्मकै उत्कृष्ट कथा संग्रह भन्दा अन्यथा हुदैन । अंग्रेजीमा दख्खल राख्ने हाम्रा धेरै अग्रजहरु ‘नेपाली पढ्न लेख्न जान्दिन’ भन्दै गर्दा यस्तै मध्येका एक विद्वानले यति सुगठित र सरस कथा संग्रह निकाल्नु हाम्रो साहित्यको लागि बहुत ठूलो गुण हो । ‘बबुवाको बोर्सी’ ले त कथाकार मैथिलीमा पनि पख्त छन् कि भन्ने भान दिन्छ । कृषि वैज्ञानिकको यो ठूलै उपलब्धि हो ।

यस पुस्तकमा १२ कथाहरु समेटिएका छन् । तिनीहरु भुटानी नेपाली साहित्यमा लेखिएका भन्दा औसत लामा कथा छन् । तिनमा व्यंग्य र विवेचना दुबै छ । सामाजिक र सान्दर्भिक छन् । धेरै लामो कालखण्डमा लेखिएका छन् कथाहरु । नेपालको हिंसात्मक द्वन्दले समाजमा पारेको प्रभाव, शरणार्थी जीवन, प्रेम, भुटानको दक्षिणी शहर गेलेफु (हात्तीसार) को ईतिहास, प्रविधिको सामाजिक प्रयोग र वर्तमान नेपाली समाजको विविध पक्षलाई आफ्नो कथावस्तु बनएका छन् रिजालले ।

उदाहरणका लागि ‘सर्प्राइज’ कथाले माओवादी द्वन्दले सृजना गरेको पारिवारिक र सामाजिक घाउ देखाइएको छ । पुन: वियोग र राजाको हात्ती भुटानको पृष्ठभूमिमा लेखिएको छ । पुनः वियोग सन् ९० मा भुटानमा भएको राजनीतिक उथलपुथलले परिवारमा ल्याएको विचल्ली र लैंगिक विभेदलाई कथाकारले बडो सान्दर्भिक रुपमा प्रस्तुत गरेका छन । ९० मा वियोग भएका प्रवासी भुटानी र भुटानमै छाडिएका उनीहरुका आफन्तलाई जसरी आज सामाजिक सञ्जालले जोडेको छ, यो परवेशलाई ‘पुनः वियोग’ ले छोटकरीमा समेटेको देखिन्छ ।

भाषा सारै स्पष्ट र सटिक लाग्यो । सरल लाग्यो । कथाहरु सरर बगेका छन् । सायद कथा वस्तुमा उतार-चडाव मिसाएको भएको अझ रुचिकार हुने थियो । अंग्रेजीमा भनिन्छ नि ‘क्लाइमेक्स’ – त्यो चाही कथाहरु पढ्दा भेटे जस्तो लागेन । पढ्दा अब के होला भन्ने जिज्ञासा कतै पनि पलाएन । पलाएको भए कथाले पूर्णता पाउने थियो ।

आगामी दिनमा रिजालका थप कथाहरु पढ्न पाउने आश राखेको छु । लेखन यात्राको शुभकामना ।

———

अर्को भेटमा म दुई उपन्यासहरु – रमेश दियालीको ‘छाप्रो नं ५५’ र डिल्लीराम शर्मा आचार्यको ‘उच्छेदन’ बारे बोल्ने प्रयास गर्नेछु ।

Leave a Reply