रुन्छु म

रुन्छु म
चिच्याएर रुन्छु
अबोध नाबालक जस्तै रुन्छु
पागल जस्तै रुन्छु

बर्षौ गजल्टिएर अड्किएको
पीडा ओकल्न रुन्छु
सुखका वैभवले, दु:खका दर्दले
मेट्न नसकेको वेदनाको
दाग पखाल्न रुन्छु
चिच्याएर रुन्छु
अबोध नाबालक जस्तै रुन्छु
पागल जस्तै रुन्छु

म रुँदा मेरा पीडकहरु हाँस्दा हुन
तर त्यो हाँसोले तिनलाई
अरु पोल्नेछ,
छटपटी गराउनेछ
वेचैन बनाउनेछ
किनकि
मोतीका दाना झै झरेका
आँसुले म पखालिएको छु, शुद्ध बनेको छु
तन वदनले हलुका महसुस गरेको छ
म प्रफुल्ल बनेको छु, पुलकित भएको छु
त्यसैले अझै रुन्छु
चिच्याएर रुन्छु
अबोध नाबालक जस्तै रुन्छु
पागल जस्तै रुन्छु

झरेका आँसुले मनको मैलो बगाएको छ
चंचल, फूर्ती र स्वच्छन्द बनाएको छ
मलाई रुवाउनेहरु
म स्वच्छन्द बनेको देखी सहने छैनन्
तिनको मन पिरोलिनेछ
पेट पोल्ने छ
मेरो मन सफा देखेर
त्यसैले म रुन्छु
चिच्याएर रुन्छु
अबोध नाबालक जस्तै रुन्छु
पागल जस्तै रुन्छु

आँसु त्यो गहुत हो
जसले मेरो अन्तर्आत्मालाई पखाल्नेछ
आँसु त्यो गंगाजल हो
जसले मेरो हृदयलाई पखाल्नेछ
आँसु त्यो संजीवनी हो
जसले मेरो विक्षिप्त मनलाई जगाउँनेछ
त्यसैले म रुन्छु
चिच्याएर रुन्छु
अबोध नाबालक जस्तै रुन्छु
पागल जस्तै रुन्छु

तिनले मलाई घृणा सिकाएका छन्
द्वेष र कुण्ठा बोक्न सिकाएका छन्
द्रोणचार्यको कथा सुनाएर
बदलाभावको आगो सल्काएका छन्
युधिष्टिको मन्त्र जपाएर
आज्ञापालक निम्सरो बनाएका छन्
भएन अब
शिशुलाई झै फकाएर खुवाइएका
सबै विष्टा म पखाल्नेछु
आँसुकै समुन्द्रले पखाल्नेछु
त्यसैले म रुन्छु
चिच्याएर रुन्छु
अबोध नाबालक जस्तै रुन्छु
पागल जस्तै रुन्छु

Share This Post

Leave a Reply