को नेपाली?

भारतको पुर्वोत्तर अहिले तातेको छ – छुट्टै गोर्खाल्याण्डका लागि भैरेको आन्दोलन र डोकलाम गतिरोधका कारण । भिन्न जातीय पहिचाहन सहितको अलग गोर्खाल्याण्डको आन्दोलनले मलाई भुटानमा विद्यमान जातीय विभेद र देशबाट लखेटिएका हामी र हाम्रो पहिचान बारे केही बोन मन लाग्यो ।

एउटै भाषा बोले पनि हामी आफूलाई नेपाली, भुटानी, गोर्खाली, आदि ठान्छौं । हाम्रो पहिचान खासमा के का आधारमा निर्धारण हुन्छ खुट्याउन सकिरहेका छैनौ – भाषाले, संस्कृतिले वा भेषले ।

भारतर भुटानमा ‘नेपाली’ भाषा बोल्नेलाई नेपालकै ठानिन्छ । त्यही भएर हामी एक लाख भुटानबाट लखेटियौं । भरतकै पनि कैयन राज्यहरुबाट ‘नेपाली’हरुको लखेटिने क्रम रोकिएको छैन । नेपालकाहरु नेपालबाहिर जहाँ बसे पनि ‘नेपाली’ भाषा बोल्नेलाई नेपाली भन्छन तर नेपालबाहिर बसेकाहरु ‘नेपाली’ भन्दा अपहेलित हुनुपर्ने परिस्थितिका कारण कैयन अवस्थामा आफूलाई ‘नेपाली’ भन्न रुचाउँदैनन् । नेपालले हामीलाई किन ‘नेपाली’ भनिदिन्छ भन्ने प्रश्न उठीरहन्छ । गोर्खाली र गोर्खाल्याण्ड यही फरक पहिचानको एउटा सुरुवाती बिन्दु हो । नेपाल राज्य आफैमा आर्थिक र राजनैतिक रुपले बलियो थियो भने सायद ‘नेपाली’ एउटै परिचय काफी हुने थियो ।

परिचय र पहिचान
परिचय र पहिचान कतिपय सन्दर्भमा समानान्तर अर्थमा प्रयोग भए पनि यी शब्दले दिने भावार्थमा किमार्थ समानता छैन । परिचय व्यक्तिवादको द्योतक हो भने पहिचान समूहगत । ‘त को होस?’ भन्ने प्रश्नको उत्तर सिर्फ नाम र थर मात्र नहुन सक्छ । यो प्रश्न परिचय र पहिचान खोज्ने सन्दर्भमा उत्तिकै सठीक छ ।

हामी भुटानबाट लखेटिनेहरु आफूलाई भुटानी ठान्छौ, ल्होत्साम्पा ठान्छौं, वा भुटानका-नेपाली, अनि कोही नेपाली-भाषी भुटानी । पहिचान तयार गर्न सहज विषय हैन, कुनै सरल फर्मुलाहरु छैनन यसका । समाजको आवश्यकता, राजनैतिक सांस्कृतिक आर्थिक परिवेश अनि भौगोलिक अवस्थितिले व्यक्तिगत र समूहगत पहिचान निर्माण हुन्छ ।

परिचय स्थिर हुन्छ, निश्चित हुन्छ । तर पहिचान सधै स्थिर हुन्न । यो चलायमान हुन्छ । यो परिवर्तनशील हुन्छ । यो निरन्तर बदलिरहने प्रकृया हो । पहिचान समय सान्दर्भिक र परिवेश सुहाउदो हुनु पर्छ ।

‘भुटानी’को ऐतिहासिक पक्ष
भुटानीमा रहेको नेपालीपन हामीले बनाएका हैनौ । यो शाह वंशीय राजाहरुले आफ्नो शक्ति विस्तार गर्ने क्रममा निर्माण गरेको परिचय हो । हुन त ती शाहहरु र तिनका अनुयायीहरु नेपाल निर्माण अघि आफूलाई गोर्खाली ठान्थे । ‘गोरख’ भक्त भारतीय राजपरिवारहरु लाखा पाखा लाग्दा पहाड पसेर आफ्नै शक्ति विस्तार गरी आफूलाई गोर्खाली बनाएका हुन् । गोरखाको पहिचान धेरै समय रहेन, शक्ति विस्तार पछि नयाँ पहिचान स्थापित गरे । त्यसअर्थमा ‘नेपाली’ राजनीतिक परिवर्तनले जुराएको नयाँ पहिचान हो ।

हामी भुटान गएकाहरु नेपाल निर्माण हुनु अघि र पछिका दुबै छौं । १६२४ मा भुटान जाने क्रम सुरु मात्र भएको हो, त्यस यता पनि थुप्रै गोर्खाली र नेपालीहरु पुर्वी हिमालय छिरेको ईतिहास हामीले नकार्न मिल्दैन । हामी धेरै भुटान र अहिलो बृहत भारत निर्माण हुनु अघि पुगेका पनि छौं । नेपाल, भारत र भुटान निर्माण नहुदै हामी हिमालय क्षेत्रका धेरै ठाउँ घुम्यौं । हामी त्यसबेला न नेपाली थियौं, न भुटानी, न गोर्खाली ।

भुटान अस्तित्वमा आएको भर्खर शताब्दी पुग्दैछ । हामीमध्ये केही भुटान बन्नुअघि त्यहाँको रैथाने बनेका हौं । हामी त्यसबेला न भुटानी थियौ, न नेपाली । कालान्तरमा हामी भुटानी भयौ । हाम्रो बोलीचालीको भाषा नेपाली बन्यो । नेपालको निर्माण पछि हाम्रो जातीय पहिचान नेपाली बन्यो । नेपालसितको हाम्रो सम्बन्ध संस्कृति, भेष र भाषाले जोडियो । हामी नेपाली बोल्ने भुटानी बन्यौ । भुटानका शासकहरुले हामी भुटानका ‘नेपाली’ बोल्नेहरुलाई नयाँ परिचय थपिदिए – लोत्साम्पा ।

लोत्साम्पा बन्दा बन्दै पनि हामी फेरी नेपाली भनियौं र देश निकालामा पर्‍यौं । त्यसयता हाम्रो पहिचानलाई दर्शाउन धेरै शब्दावलीहरु निर्माण भएका छन् । पुनर्वासपछि फेरी हाम्रो पहिचान फेरिदैछ । हामी बहुल संस्कृति र बहुल भाषाको त्यो महासागरमा डुबेका छौ जहाँ हाम्रो अस्तित्वको आवाज दुरदराजमा कसैले सुन्दैन अनि हाम्रो अस्तित्वको प्रयास कसैले देख्दैन । हामीले यो बहुसंस्कृतिमा घुलमिल हुन सिक्दै गर्दा हुर्कने नयाँ पीडिले आफ्नो पहिचान कसरी हाम्रो सोच र विचार अनुसार बनाउलान र? हाम्रो विचार अनुसारको भविष्य सरल छैन, सहज छैन ।

पहिचानको निर्माण
भुगोल, संस्कृति, भाषा र भेष – पहिचानका महत्वपूर्ण मेरुदण्ड हुन् । त्यसमा राजनीति र सामाजिक नियमहरुले सहयोगीको भुमिका खेल्छन् । यी मध्ये पनि सबै भन्दा ठूलो भुमिका संस्कृतिको रहन्छ । कतिपय विद्वानहरुले भाषा र संस्कृतिको भुमिकालाई समान रुपमा लिएका छन भने कतिले भाषालाई महत्व दिएका छन् । तर एकै भाषा भएका कैयन समाजले भिन्न पहिचान बोकेको उदाहरण प्रशस्तै छन् । अंग्रेजी भाषा बोल्नेहरुको संस्कृतिका आधारमा देखिएको विविध पहिचान सबै भन्दा सजिलो उदाहरण बन्न सक्छ ।

नेपाली समाजशास्त्री ऋषिकेशव रेग्मीको भनाईमा उस्तै वंशज, समाज सुहाउदो सांस्कृतिक र शारिरीक विशेषताहरु अनि समान खाले मनोवृत्ति र व्यावहार भएमा भिन्न पहिचाहन बोक्ने समूह बन्न सक्छ । तर उनले यो समूहमा विविध जाति पनि अटाउन सकिने बताएका छन् । हाम्रो सन्दर्भमा यस व्याख्यालाई दाजेर हेर्ने हो भने हामी ‘नेपाली’ पहिचान मै पुगेर ठोक्किन्छौं । तर त्यही शब्दले मात्र हाम्रो पहिचान अपुग हुन्छ भन्नेहरुको आवाज हामी माझ बुलन्द हुदैछ ।

भुटानको आफ्नै इतिहास हेर्‍यौं भने पनि संस्कृतिले पहिचान निर्माणमा ठूलो भूमिका खेलेको छ । हामी स्वीकार गरौ या नगरौं तर भुटानको आजको पहिचान भनेको बख्खु लाउने जाति, बुद्ध धर्म मान्ने, लामाहरुको बाहुल्य, सांस्कृतिक र भाषिक रुपमा तिब्बतसित नजिक अनि गुम्बा र ल्हाखाङहरु भएको देश हो । ‘नेपाली’ भनेर चिनिने पहिचानको स्थान भुटानमा कहाँ छ र । नेपाली भाषा लेख्न जान्ने व्यक्ति छैन देशमा, नेपाली पठन-पाठन हुने स्थान छैन । नेपाली भाषा विकासको अभियानसित जोडिएको व्यक्ति भेटिन्न त्यहाँ । नेपालीपन झल्कने ठाउँका नाम परिवर्तन भैसके । सांस्कृतिक कार्यक्रममा केही भारतीय संस्कृतिको धोती लाउनेबाहेक सबै बख्खु लाउनेहरु मात्रै हुन्छन् । हाम्रो संस्कृतिका भेष-भूषा मासिएको छ । भाषा र संस्कृति मासिएको ठाउँमा पहिचान कसरी बाँचिरहन सक्छ र ।

जोंखा भाषा विकास भएको करिब पाँच दशक मात्र हुदैछ । त्यो भन्दा अघि पनि भुटानको पहिचान, आज जो छ त्यस्तै थियो । राजनीतिक रुपमा भारतको नजिक भए पनि संस्कृतिले त्यहाँको पहिचानलाई अविच्छिन्न बनाएको छ । भारत भन्दा भिन्न देश बनाएको छ । देशको कानुनले पनि भुटानको पहिचान निर्माणमा भूमिका खेलेको छ । भुटानको ‘बहुलवाद (भाषा र संस्कृतिको) भौगोलिक रुपमा ठूला मुलुकमा मात्र सम्भव छ’ भन्ने सिद्धान्तले पनि भुटानको एकल पहिचान निर्माणमा मद्दत पुगेको हो ।

नेपाली, गोर्खाली वा अन्य केही
हामी सबै जसो आफ्नो पहिचान देखाउने क्रममा ‘नेपाली पन’को एउटा छनक पक्का दिन्छौं । आज व्यावहारिक रुपमा पनि हाम्रो सम्बन्ध भुटान भन्दा नेपाल सित प्रगाढ बन्दैछ । पुनर्वासपछिको हाम्रो ससुराली गाउँ बन्दै छ नेपाल । पर्यटनका लागि होस वा आफन्त भेट्न, तीर्थयात्रा वा वैवाहिक जीवन सुरु गर्न, आजको हाम्रो प्रमुख गन्तब्य भनेको नेपाल नै बनिरहेको छ । उत्तर पुर्वी भारत र भुटानमा पनि हाम्रो संस्कृति जस्तै मान्ने र भाषा बोल्ने मानिसहरु प्रशस्त छन तर हामीले नेपालमा न्यानोपन भेटेका छौं, मीठो सत्कार पाएका छौं । यसले पनि हामी आफ्नो पहिचानसित त्यो ‘नेपाली’ पनको गन्ध हट्न दिइरहेका छैनौं, भविष्यमा पनि यो सम्बन्ध टुट्ने सम्भावना कम छ । हामी आफूलाई भुटानी भनेर पनि भुटान सितको सम्बन्ध विस्तारमा राजनीतिक आन्दोलन बाहेक अरु कुनै प्रयास गरिरहेका छैनौं । हामी भुटानीपनलाई बोलीमा र कागजमा सिमित गर्दैछौं । के यसले हाम्रो ‘भुटानी’ भन्ने पहिचानलाई निरन्तरता दिन सहयोग गर्छ?

यद्यपी पुनर्वासित देशमा हामी आफूलाई ‘भुटानी’ भनेर नेपाली भन्दा फरक पहिचान दिने प्रयासमा छौं । हामी भुटानमा जन्मेका कारण भुटानी हौं, भुटानी शरणार्थी भएर पुनर्वासित भएका हौ भन्नेहरुको तर्कमा पनि केही दम पक्कै छ । यस तर्कले बोकेको आशय – जन्मका आधारमा पहिचान – सर्वथा लागु नहुन सक्छ । जन्मेको ठाउँलाई पहिचानको आधार मान्ने हो भने हामी पुनर्वासित बने पछि जन्मेको हाम्रा नयाँ पुस्ता, नेपालमा जन्मेको पुस्ता अनि भुटानमै जन्मेको पुस्ताको पहिचान फरक हुने भयो । हामी एउटै पहिचान बोकेको समाज रहेनौं । हाम्रो परिवार नै तीन पहिचान बोकेको बन्ने भयो ।

पुनर्वासपछि हामीले यता स्थापित भैसकेका नेपालीसित पिरती गास्न सकिरहेका छैनौं । बरु नेपालमै बसेकाहरुसित हाम्रो उठबस बढी हुन थालेको छ । भुटानी र नेपालीका छुट्टा छुट्टै समाज छन्, संघ-सस्था छन् । एकले अर्काको संस्थामा सदस्यता पाउँदैनन् । हामी भुटानीहरु नेपालीको ‘गैर आवसीय नेपाली’मा गनिन भ्याएका छैनौं ।

‘नेपाली’ शब्दले दुईवटा अर्थ बोकेको हुनुपर्छ मेरो विचारमा । एक – ‘नेपाली’ भाषा बोल्ने, र दुई – नेपालका नागरिक । अन्तराष्ट्रिय प्रयोगमा केही भिन्नता थियो – नेप्लिज र नेपाली । नेपालको नागरिकलाई नेप्लिज र नेपाली भाषा बोल्नेलाई नेपाली भनेर खुट्याउन सहज थियो । नेपालमा पछिल्लो समय अंग्रेजीमा पनि नेपालका नागरिकलाई नेपाली (Nepali) लेख्ने प्रचलन बढ्न थाले पछि आफूलाई गोर्खा भन्ने बाहेक नेपालका अनागरिक तर त्यही भाषा बोल्नेले आफ्नो पहिचानमा अप्ठ्यारोपन देख्न थालेका छन् ।

निष्कर्ष
हाम्रो ईतिहास धेरै बरालिएको छ । हामीले भुगोल धेरै पटक परिवर्तन गर्‍यौं तर संस्कृतिलाई निरन्तरता दियौं । त्यसहिसाबले हाम्रो पहिचान निर्माणको आधार संस्कृति नै हुनुपर्छ । यो केही दिन वा केही वर्षमा तयार हुने विषय हैन । यसमा दशकौं सम्मा निरन्तर प्रयासहरु भैरहनु पर्छ । यसै उद्दैश्यलाई केन्द्रविन्दुमा राखेर बृहत्तर स्तरमा बहस, छलफल र तिनबाट निस्केका निचोडलाई आत्मासात गर्ने प्रयत्नहरु हुनुपर्छ ।

भारतमा चलेको गोर्खाल्याणडको आन्दोलनले ११० वर्ष पार गर्दा पनि त्यहाँको सानो समुदायले आफ्नो पहिचान निर्माण गर्न सकेको छैन । गोर्खाल्याण्ड स्थापना गर्ने सके सायद यसले कालान्तरमा ‘नेपालका नेपाली’ र ‘नेपाल बाहिरका नेपाली’ विचको समानता र फरक निर्क्योल गर्न सहयोग पुग्नेछ भन्ने आशा गर्न सकिन्छ ।

Share This Post

Leave a Reply