अन्तर्द्वन्द

(यो मेरो अघिल्लो कथा भगवान! कै तेस्रो भाग हो । पहिलो भाग पढ्न यहाँ क्लिक गर्नुहोस, दोस्रो भाग पढ्न यहाँ क्लिक गर्नुहोस ।)

कायक्रमको तयारी गर्नु थियो । प्रायोजकहरु खोज्ने, कायक्रम स्थलको निधो गर्ने, खेलाडीलाई सहभागिताको लागि सार्वजनिक वा व्यक्तिगत आव्हान गर्ने अनि अन्य अन्य धेरै काम । कैलाशले ‘पोजिटिभको’ भेला डाकेको छ यसकै लागि । धेरै युवा साथीहरुको सहयोग भयो भने कार्यक्रममा कम खट्नु पर्ने, युवा साथीहरु विच मित्रता बढ्ने अनि कार्यक्रम पनि सहज रुपमा सम्पन्न हुने सोचेर सबै सदस्यलाई अरु साथीहरुलाई पनि लिएर आउन भनेको थियो उसले ।

भेलाको समय विहान १० बजेलाई तोकिएको थियो । चलेकै संस्कार हो । १० बजे पछि मात्र साथीहरुको फाट्ट फुट्ट आगमन हुन थाल्यो । छलफललाई समयमै सकाउन भनेर कैलाश भने तोकिएको समय भन्दा करिब आधा घण्टा अघि नै आएको थियो । लामो समय कुर्दा पनि धेरै साथीहरु आएनन । आएका केहीले कैलाशको टाउको खान लागे ।

‘कति बेर पर्खने अब? मुर्दा कुरे जत्तिकै भैसक्यो,’ रमा बोली ।

‘अब सबै नआई थाले, कुरो घरी घरी भन्नु पर्ला । एउटै कुरो पटक पटक भन्नु भन्दा त केही बेर कुरेकै बेश होला हैन?,’ कैलाशले जवाफ फर्कायो ।

‘हाम्रो अरु पनि त काम हुन्छ नि । समय तोके पछि त आउनु नि समयमा । उनीहरुको सहजताका लागि हामी समय खेर फाल्न सक्दैनौं,’ शमशेर जंगियो ।

कोही बोलेन । सबै उसको चर्को आवाज सुन्न थाले । उसको चासो सही थियो र यसलाई नकार्न सक्ने उपाय अरुसंग थिएन । सबैले उतिरै फर्केको देखेर शमशेरलाई लाग्यो उसले निकै गतिलो कुरो गर्‍यो । चकमन्नताले उसलाई अरु थप बोल्न प्रेरित गर्‍यो । ‘अब छलफल सुरु गरौं, पछि आउनेले हामीले गरेको निर्णयलाई स्वीकार गर्नु पर्छ ।‘

‘अब दश मिनट पर्खौं न । अरु कोही आइहालन्छ कि,’ शरणले भन्यो ।

‘भगवानको दर्शनका लागि पनि यति धेरै कोही कुर्दैन । कुर्न मन पर्नेहरु बसे हुन्छ, म चैं लागे,’ रमा फतफताउदै उठेर हिडी । कैलाश र किरणले उसलाई सम्झाउने प्रयास गरे, रोक्ने कोसिस सम्म गरे, पार लागे । खासमा रमालाई रमनकोमा गएर सल्लाह लिएको, उसको निर्देशन मानेको पहिले देखि नै मन परेको थिएन । साथीहरु ढिला आए भन्नु उसको भेला बहिस्कारको एउटा सरल बहाना मात्र थियो । किनकि उ पनि कैयन पटन यसरी नै अबेर उपस्थित भएकी सबैलाई थाहै छ ।

अरु केही समय कुरे पछि पनि साथीहरु आउने छनक नदेखेपछि कैलाशले बैठक सुरु गर्ने प्रयास गर्‍यो । अपेक्षा गरे भन्दा आधा साथीहरु पनि उपस्थित थिएनन् ।

“आजको मुख्य एजेण्डा भनेको तय भएको कार्यक्रमका लागि जिम्मेवारी बाडफाड हो । पहिले, आफूलाई कुन जिम्मेवारी लिन मन परेको छ वा कुन काम सहज लाग्छ त्यो भन्न म सबैलाई अनुरोध गर्छु ।‘

‘कसैले यस गर उसो गर भन्दा पनि आफै एउटा जिम्मेवारी लिए सारै राम्रो हुन्छ । हाम्रो काम हाकिम र कर्मचारीको जस्तो हैन टिम स्पिरिटको हुनुपर्छ । खेलाडीलाई खबर गर्ने र उनीहरुको व्यवस्थापन गर्ने जिम्मा म लिन्छु,’ शरण जिम्मेवारी लिने ईच्छा देखायो ।

अरु कोही बोलेन । जिम्मेवारी लिन सबै हिच्किचाए ।

वास्तवमा यो हिच्किचाहट थिएन । यो हाम्रो समाजको संस्कृति हो । हामी अरुले अराएको काम गर्न मात्र जान्दछौ । यसो गर भनिदिनु पर्छ । हामी आफै काम देख्दैनौ – त्यो आफ्नै काम किन नहोस । हामी अराइएका मानिस, सिकाइएका मानिस । हामीलाई कसैले खुवाईदिनु पर्छ । हामी आखाँ अघिको थालको भात सम्म देख्दैनौं ।

कैलाशले आफू खर्च जुटाउने जिम्मा लिन तयार भएको प्रस्ताव राख्यो।

‘अरु के के गर्नु पर्छ नि?’ श्यामले सोध्यो ।

‘केही सांस्कृतिक प्रदर्शनी, अतिथि निम्तो, खेल मैदान खोज्ने काम र त्यसको व्यावस्थापन, निर्णायकहरु खोज्ने काम, प्रचार प्रसार । कति छन् कति नि गर्नु पर्ने काम । तिमी के जिम्मेवारी लिन चाहाने?’ कैलाशले श्यामलाई सोध्यो ।

‘म त भ्याउदिन,’ श्यामले उम्कने बहाना बनायो ।

‘सुक्ष्मा तिमी के गर्छौ?’

‘खै कोनि त,’ सुक्ष्माले मुन्टो निहुराएर लजाउदै सानो स्वरमा जवाफ फर्काई ।

कसैले जिम्मेवारी लिने जागर देखएन । छलफल भन्दा पनि गफ धेरै लामो चल्यो, ख्याल ठट्टा गर्ने काम भयो, निर्णयहरु गर्न कसैलाइ हतारो थिएन ।

प्रेमा र सुमन पिछाडी बसेर आफ्ने धुनमा गफिरहेका थिए । कुनामा बसेको प्रमोद श्यामलाई जिम्मेवारी नलिन र कैलाशको योजना भत्काउन उक्साईहरेको थियो । हुन त काम परेको बेला कैलाश र रमनको घरमा सहयोग खोज्दै रुञ्चे अनुहार लाउदै पुग्ने पहिलो व्यक्ति प्रमोद नै हो । प्रत्यक्ष रुपमा प्रमोदले कैलाश वा रमनको कहिल्यै बिरोध गरेन तर समाजमा उनीहरु बिरुद्ध कसैलाई बोल्न वा गर्न उक्साउने भने प्रमोद नै हो । कुरो सकिए पछि उकासेकाई ‘ठिक पारिस आज’ भन्न अनि कैलाश र रमनकोमा अरुले त्यति राम्रो कामको बिरोध गरेकोमा दु:ख लागेको भन्दै कुरा दोचार्न पनि प्रमोद नै पुग्छ ।

प्रमोदले प्रेमा र सुमनलाई ठूलो आवाजमा भन्यो, ‘ साथी हो, व्यक्तिगत गफ भन्दा पनि के जिम्मेवारी लिने त्यता ध्यान दिनु राम्रो होला । प्रेमा भन तिमी के जिम्मेवारी लिने?’

‘मलाई सोध्नु अघि आफूलाई सोध्ने कि । तिमीले के जिम्मेवारी लियौ?’

प्रमोद केही बोलेन । उसित प्रेमाको लागि जवाफ थिएन । उसले कालो अनुहार लाउदै वरीपरि नजर दौडायो । सबै उसैतिर हेरीरहेका थिए ।

‘कामको जिम्मा आज लिन नसक्ने हो भने, बैठक सकौं । फेरी भेटेर निर्णय गरौंला,’ कैलाशले प्रस्ताव राख्यो ।

‘सजिलो काम जति सबै आफू लिने अनि अप्ठ्यारो काम अरुलाई गर भन्दा को अघि सर्छ त?’ प्रेमाले तितो पोखी ।

हल्लाले भरिएको माहोलमा एकाएक सन्नाटा छायो । सबैको प्रतिक्षा अब कैलाशको जवाफमा अड्कियो ।

‘ठीक छ । तिमीलाई सबै भन्दा सजिलो, मन पर्ने काम जे हो, त्यही जिम्मेवारी लिए हुन्छ । सबैभन्दा अप्ठ्यारो काम कुन हो, मलाई भनिदेउ म त्यही गर्न तयार छु । तिमीलाई कुन जिम्मेवारी लिन मन लागेको हो?’ कैलाशले सोध्यो ।

त्यसको जवाफ प्रेमासित थिएन । उसले त केवल रमनको सहयोग लिएकोमा कैलाशमाथि मनको तितो पोखेकी हो । आफू जिम्मेवारी लिनु भन्दा पनि कैलाशले कुनै जिम्मेवारी नलेओस अनि कार्यक्रम असफल बनाएर उसलाई दोषी ठहर्‍याउन सकियोस भन्ने ध्येय हो उसको ।

कैलाशको अफर पछि प्रेमाले बोल्ने ठाउँ पाईन । भनी, ‘सबै साथीहरुले जे जिम्मेवारी दिन्छन, त्यो गर्न म तयार छु ।‘

घण्टौ छलफल गरे पनि कसैले जिम्मेवारी लिने अठोट नै लिएनन् । फेरी भेटेर छलफल गर्ने गरी बैठक सकियो ।

कार स्टार्ट गर्दा पनि कैलाशको मन भारी भैरह्यो । थालेको काम कसरी फत्ते गर्ने भन्ने चिन्ताले उसलाई सताईरह्यो । रमनले हरेक काममा सहयोग गर्छु र जसरी पनि कार्यक्रम सफल हुन्छ भनेर वचन दिएको छ । कार्यक्रम सफल हुनेमा उसको आश अब रमन मात्र रह्यो । तर आफ्नै टिमका साथीहरुले असहयोग गरेको देख्दा उसले किन भनेर खुट्याउन सकेन ।

साँझ परेको थियो । बाटोमा पर्ने शिव मन्दिर पस्यो ऊ । भजन चलिरहेको थियो । शिवको शालिकमा ढोग्यो र भजनेहरुको पछिल्तिर आएर बस्यो । इश्वरको चिन्तनले उसको मनलाई केही शितलता प्रदान गर्‍यो। कुनै धर्मको पछि लाग्दैन ऊ । ईश्वरको भजन सुनिने कुनै पनि स्थान मन्दिर, मस्जिद, चर्च वा मोनास्ट्री, जहा पनि पुग्छ । ऊ ईश्वर पुज्छ, धर्म हैन ।

अर्को तर्फको अग्रपंत्तिमा रमन पनि रहेछ । रमनलाई देखेपछि कैलाशको मन झन शान्त भयो । धेरै भेर भजनमा सम्मिलित भएर रमन र कैलाश अबेर साँझ घर लागे ।

रमनले दिउसो विपक्षी दलका एक नेतासित भेट भएको कुरो सुनायो । चुनाव नजिकिदै गर्दा भोट माग्न नेताहरु गाउँ छिरेका छन् । केशव हो तिनको नाम । यो पटकको चुनावमा उनले समाजमा व्याप्त जातीय विभेदलाई आफ्नो मुद्दा बनाएका रहेछन् ।

‘राम्रो विषय उठाएका रै’छन,’ कैलाशले समर्थन जनायो ।

‘अं, विषय राम्रो छ । राजनीतिक रुपमा सचेत सबैलाई यो विषय राम्रो लाग्छ । युवाहरु त यसको पक्षमा खडा हुने नै भए,’ रमन पनि सही थप्यो ।

‘यस्तै मान्छेलाई जिताउनु पर्छ है दाज्यु यसपाली को भोटमा ।‘

‘तर तिनले जुन प्रकारले विषयलाई प्रस्तुत गर्न खोजेका छन्, त्यसरी सामाजिक कुरीतिहरु हटेर जादैनन् । अपठित, निरक्षर ८० बर्षका जन्तरे बा’लाई अब तिमीले यतिका बर्ष सिकेको जातीय छुवाछुत तुरुन्त छोड भन्दा सम्भव छैन ।‘

‘तर कुरीति नहाटई सामाजिक परिवर्तन कसरी संभव छ? परिवर्तन नभइ विकास कसरी संभव छ?’

‘तिमीले मानव इतिहास हेर्‍यौ भने भेट्ने छौ – सामाजिक परिवर्तनका लागि नयाँ पुस्तालाई तयार पार्नु पर्छ, पुरानो पुस्तालाई । मैले बुझेको कुरो के हो भने, राजनैतिक परिवर्तन जस्तो आन्दोलन र हड्ताल गरेर सामाजिक परिवर्तन आउदैन । नयाँ पुस्ताले सामाजिक कुरीति बारे बुझ्नु पर्छ, त्यसले हाम्रो समद्धीमा पुर्‍याएको नोक्शान बारे विश्लेषण गर्न सक्नु पर्छ । एउटा मान्छेले जीवनकालमा १० वटा राजनैतिक परिवर्तन देख्न सक्छ तर सामाजिक परिवर्तन एउटा वा दुइटा भन्दा धेरै देख्न सक्दैन,’ रमनले व्याख्यान लगायो ।

‘तर परिवर्तन हुन सक्दैन भनेर हात बाधेर बस्दा परिवर्तन हुने हो र? प्रयास नगरी कसरी परिवर्तन आउँछ?,’ कैलाशले च्याखे थाप्यो ।

‘राजनैति परिवर्तन अस्थायी हो । सामाजिक परिवर्तन स्थायी हो । परिवर्तन स्थायी हुनका लागि यसको गरि ढीला हुनु पर्छ । ढीलो परिवर्तन हुनु भनेको हरेक व्यक्तिलाई त्यो परिवर्तन बारे सोच्ने समय दिनु र क्रमश: त्यसलाई आफ्नो लागि ग्राह्य बनाउनु हो ।‘

‘के अब तेसो भए हामीले कानमा तेल हालेर बस्ने हो,’ कैलाशले फेरी प्रश्न थप्यो ।

‘हैन । हाम्रो जिम्मेवारी भनेको नयाँ पुस्तालाई यो कुरीतिबारे सिकाउने हो । पुरानो पुस्तामा हामी लाग्यो भने हामी उनीहरुलाई परिवर्तन गराउन त सक्दैनौ नै, सचेत नयाँ पुस्ता तयार गर्ने हाम्रो अभियान अपूर्ण नै रहन्छ । हामी थाकेर बस्दा फेरी उही विभेदले ग्रस्त अर्को पुस्ता तयार हुन्छ । ‘

घच्याक्क कार ब्रेक लाग्यो । रमनलाई झारी राखेर कैलाश आफ्नो घरतिर लाग्यो । रात निके वितिसकेको थियो ।

क्रमश:…….

Share This Post

Leave a Reply