भगवान !

Gods‘खाली अप्ठेरो पर्ने ठाउँमा चै मलाई पठाउँछौं हैन तिमेरु,’ राधेश्याम बुढा जंगिए ।

‘बा तपाई अलि बोल्न जान्दाछौ र पो अघि बढा’को त । भोलि राजनीतिमा लाग्ने सपना बोकेको मान्छेले यही मौका हो मान्छेहरुसित तर्क गर्न सिक्ने,’ किरणले बा’लाई सर्कायो ।

‘नापिस ! ५० बाट उकाले लागेपछि राजनीतिमा लाग्नुछ मलाई’ ।

धर्म कर्म र परम्परामा कर्मठ राधेश्याम गाउँमा गफाडी तर छुच्चा मान्छेका रुपमा चिनिन्छन् । पुराना पुस्ताले खुबै सम्मान गर्छन तर युवाहरु पिटिक्क हेरिसहदैनन् । नयाँ देशमा आएको धेरै भ’को छैन तर भविष्यमा मेयर लड्ने आकांक्षी राधेश्याम युवाहरुको मन जित्ने प्रयास गर्छन् । भोट बैंक बनाउने कल्पनामा ।

‘आज पनि परिबन्धमा पर्नु भो कि के हो?’ खन्तरे बा’ले सोधे ।

‘झन्डै मारे नि ठिटाहरुले । अचम्मै लाग्छ, के खान्छन र त्यस्तो अचाक्ली नचाहिदो कुरा खेल्छ दिमागमा ?’

‘के गरे नि आज चै?’

‘कृष्ण जन्माष्टमी आयोजना गर्ने छलफल हुंदै थियो । सबैले भगवानलाई छुन र फूल चढाउन पाउनु पर्छ भन्दै बुरुक्क उफ्री त हाले’ ।

‘सबैलाई आफ्नो धर्म र संस्कार मान्ने अधिकार हुन्छ भनियो हामीलाई यता ल्याउने बेला । तर यहाँ नर्कको यात्रा गराउने भए अधर्मीहरुले’, कुइकेल माइलाले गनगन गरे ।

‘त्यही त! आफ्नो संस्कार अनुसार कर्म गर्न नपाइने भयो’, किरणले थप्यो ।

‘कसले रोक्यो र तपाईहरुलाई धर्मकर्ममा?’, तन्नेरी रमन फुत्तै घर भित्र पस्यो । ‘घनेलाई खोज्दै आ’को, अरु नै रमाईला कुरा सुन्न पाईने भइयो’ भन्दै रमन सोफामा बस्यो । निकै बेरदेखि गफिएका बुढाहरु केहीबेर चकमन्न बसे । कोही कोही सित बोलेन ।

‘तपाईहरु त चुप लाग्नु भो नि । मैले केही बिराए?’

‘गतिलो काम कहिले गरेका छौ र बिराए भनेर प्रश्न गर्छस तँ?’

‘तपाईहरुले यो चैं तैले बेकाम गरिस भनेर देखाइदे पो सुधार्ने मौका पाइन्थ्यो त । कसरी जन्ने आफ्नै गल्ती?’

‘कृष्ण अष्टमी आयोजना गर्न लागेको, सबैले प्रवेश पाउनु पर्छ भनेर तेरो भाई बुरुक्कै उफ्रिर’को छ । गएर ठाउँमा राख न भाईलाई’ ।

‘केटाकेटी मान्छे कुरा बुझेन होला अनि बम्क्यो नि । अब ठूलाले बुझ्नु पर्योो । के मा अप्ठेरो थापेछ फेरि?’

‘कृष्ण जन्मोष्टमीको दिन भगवानको विशेष अर्चना गर्दैछौं । हामी त्यसतो पूण्य कर्ममा कसरी सबै मान्छेलाई छिर्न दिन सक्छौं?’

‘त्यो निर्क्योल गर्ने काम चैं मेरो हैन । कसले के गर्न हुन्न भनेर खुट्याउने अधिकार मैले पाएको छैन’ ।

‘भाई, धर्म संस्कारको बारेमा कुरा गर्दा अधिकारको विषय उठाईरहनु परोइन । धर्म थाम्नु सबैको कर्तव्य हो । अरु तर्क नगर, हाम्रो जन्मोत्सवमा तल्लो जातकालाई लिएर तेरो भाई आएछ भने हामी तलाई पनि समाजबाट हटक गर्छौं’ ।

‘ठिकै छ नि त म त्यसलाई सम्झाउछु । तपाईलाई थाहा नै छ, यसता कुरामा उ प्रश्न माथि प्रश्न तेर्स्याउँछ । उसको प्रश्नको चित्तबुझ्दो जवाफ मैले दिन सके भने त उ बाटोमा आउँछ नि है न र ! तपाईहरु जस्तो विद्वानले हामीलाई सिकाउनु पर्यो नि यिनीहरु जस्तालाई कसरी सम्झाउने भनेर,’ रमनले भन्यो ।

‘के सिकाउनु पर्योर मैले तलाई,’ राधेश्याम बा’ ताते ।

‘तल्लो जातका को को हुन र किन ती तल्लो जातका भए भनेर उस्लाई बुझाउन सक्नु परेन बा? तपाई पनि त्यतिकै ठूला कुरा गर्नु हुन्छ’ ।

रमनको तर्कले गफ सुन्दै छेउमा बसेका कुइकेल बा’को कन्सिरि तातेछ क्यार । कड्केर बोले, ‘निचा कुलमा जन्मेपछि कोही माथिल्लो जातको हुन सक्छ । तेरो यो कसतो प्रश्न हो?’

‘भगवान श्रीकृष्णले गीताको अठारौं अध्यायको ४१ र ४२ श्लोकमा भन्नुभएको छ, मानिस जन्मे पछि उसका कर्ममा आधारमा उच वा निच हुन्छ । हाम्रो धार्मिक ग्रन्थ महाभारतमा भनिएको छ, ‘ईश्वरको प्रार्थना नगर्ने अशुद्ध हो, नीचा जातको हो । अब तपाई कसरी जन्मका आधारमा कसैलाई उच र कसैलाई निचा भन्न सक्नुहुन्छ ?’

सबै चुप लागे । रमनको उत्तर कसै सित थिएन । वास्तवमा यो विभेदबारे उनीहरुलाई कलिलो दिमाग हुदै सिकाइएको हो । सानो र ठूलो हुनुको कुनै अर्थ वा प्रमाण उनीहरुलाई सिकाइएन । अब आज नयाँ पुस्ताले प्रश्न गर्दा उनीहरुसित त्यसको उत्तर कहाँ छ र । निकैबेर त्यहा चकमन्नता छायो । रमनले वातावरण नियालो । कसैले कसैलाई हेरिरहेका थिएनन् । सबै एकटकले टोलाईरहेका थिए ।

रमनले फेरी भन्यो, ‘हाम्रो संस्कारले सिकाएको के हो भने ईश्वरको वास भएको स्थान जहिल्यै शुद्ध र पवित्र हुन्छ । त्यही भएर तपाईहरुले हामीलाई घरमा सानो मन्दिर राख्ने संस्कार सिकाउनु भयो । त्यही भएर हामी कुनै शुभकामका लागि ईश्वरको वास हुने विश्वास गरिएको मन्दिर जान्छौं’ ।

‘हामीले त्यसलाई होइन भनेका छैनौं,’ खन्तरे बा’ बोले ।

‘हो बा, म तपाईको कुरा सही मान्छु । यो कुरा तपाईले हामीलाई सही नै सिकाउनु भएको छ । त्यो बाहेर अर्को राम्रो कुरा हामीले तपाईहरुबाट के पनि सिकेका छौं भने संसारका हरेक प्राणीमा ईश्वरको वास हुन्छ’ ।

‘तैले ऐले मात्र सही कुरा बोलिस,’ खन्तरे बा’ले थपे ।

‘अब बा’ मलाई भन्दिनु होस, ईश्वरको वास भएको सबै मानिस कोही सानो, कोहि ठूलो कसरी भयो । कोही शुद्ध, कोही अशुद्ध कसरी भयो ?’

‘सबै कुरामा धर्मको मात्र प्रधानता हुन्न । हामीले संस्कार र परम्परा पनि हेर्नु पर्छ,’ राधेश्यामले उत्तर दिए । ‘ हामी हाम्रा पुर्खाले बसालेको संस्कार र परम्परा त्याग्न सक्दैनौं’ ।

‘तपाईको भन्नुको अर्थ, ईश्वरको वचन भन्दा हाम्रा पुर्खाले बसालेको सामाजिक व्यावस्था उत्तम हो?’ रमनले प्रश्न गर्यो् ।

‘हाम्रो संस्कार भनेको हाम्रो परिचय हो । हाम्रो परिचयले ‘हामी’ हुनुको अस्तित्वबोध गराउँछ । हाम्रो संस्कार नै हाम्रो जातीय पहिचानको आधार हो । हामी आफैले आफ्नो संस्कारलाई भुल्यौ भने हामी हाम्रो अस्तित्वलाई कसरी जीवन्त राख्न सक्छौं? के हामी अरुमै विलाएर सकिने हो? हामीले हाम्रोपनलाई जीवन्त राख्नु पर्दैन?,’ राधेश्यामले निकै गहकिलो तर्क राखे ।

‘मैले आफ्नो अस्तित्व र पहिचानलाई नास्नु भनेकै छैन, भन्नै सक्दिन । तर संस्कार जोगाउँने नाममा के हामी सती प्रथालाई पुन: सुरु गर्न सक्छौं? के श्रीमतिले हरेक दिन विहान उठेर श्रीमानको खुट्टा धोएर पानी खानु पर्ने प्रथा दोहोर्या उन सक्छऔं?,’ रमनको प्रश्नको जवाफ कोही सित थिएन । उसले अरु थप्यो, ‘तपाई अब उप्रान्त फलाम लागेको चेयरमा बसेर टेबलमा खान खान पाउनु हुन्न । हाम्रो संस्कारले त्यो मान्दैनथ्यो । तपाईले औंशी र पूर्णीमाको दिन गाईको गोबरले घर लिप्नु पर्छ । सिलाएको लुगा लगाउन पाउनुहुन्न । सक्नु हुन्छ यी सबै हाम्रा संस्कार थाम्न?’

‘ती सबै थाम्न कहाँ सकिन्छ त । समय अनुसार परिवर्तन हुन्छ, फेरबदल हुन्छ नै’ ।

‘बा म पनि त्यही त भन्दै छु नि । समय अनुसार हाम्रो शैली बदल्नु पर्योछ । संस्कारमा परिवर्तन ल्याउनु पर्योत । हामी हिजो जहाँ थियौं, जस्तो अवस्थामा थियौं, आज त्यो अवस्थामा छैनौं, त्यो वातावरणमा छैनौं । परिस्थिति र परिवेश अनुसार हामीले नयाँ संस्कार र आचरणको विकास गर्न सक्नु पर्छ,’ रमनले बुझाउन खोज्यो ।

टकटक टकटक । ढोकामा कसैले हिर्कायो ।

रमले ढोका खोल्यो । दुईजना युवाहरु बाहिर उभिएर राधेश्यामको बारेमा सोध्दै थिए । तिनीहरु भित्र आए । गफ गर्दै जादा थाहा भयो राधेश्याम बा’ले तिनलाई दिउसो पार्कमा भेटेका रहेछन् । अंग्रेजीमा के भने नबुझेपछि आफ्नो परिचय पत्र देखाएका रहेछन् । उनीहरुले भने, ‘हामीले उहाँलाई साँझमा घरमा इशुको वचन सुनाउन आउछौं भन्दा हुन्छ भन्नु भा’थ्यो’ ।

रमनले नेपालीमा राधेश्याम बा’लाई विस्तार लगायो ।

‘अब उनीहरुले के के भने के के भने । मैले त ओके ओके मात्र भनेको हु । कहाँ घरमा बोलाको हु र’, राधेश्यामले आफ्नो अंग्रेजी नजान्नुको गुनासो पोखे । रमले त्यसलाई उल्था गरिदियो।

रमनले ती युवालाई सोध्यो, ‘को हुन प्रभु इशु?’

‘मानव जगतका मुक्ति दाता । हामी सबैको उद्धार दाता । ज-जसले उनलाई आफ्नो ठान्छ, सबैलाई उहाँले स्वर्गमा वास दिनु हुन्छ । हाम्रो जीवन सार्थक बनाउनु हुनेछ,” एउटाले भन्यो ।

‘त्यसको प्रमाण के छ?’

‘होली बाइबल’ ।

‘त्यसतो त सबै धर्मका ग्रन्थहरुमा लेखिएको छ । बाइबल, त्रिपिटिका, गीता वा कुरान सबैको सार त्यही हैन र?’ रमनले थप प्रश्न गर्योा ।

‘बाइबल सबै भन्दा पुरानो धर्म ग्रन्थ हो । ईश्वरको सच्चा बाणी समेटिएको एक मात्र ग्रन्थ हो’ । अर्काले भन्यो ।

‘प्रभु इशु संसारमा आउनु भएको कति अघि हो?’

‘आज भन्दा दुई हजार बर्ष अघि’ ।

रमनले भन्यो, ‘तर बुद्ध दुई हजार पाँच सय बर्ष अघि संसारमा आएका थिए हैन । अनि हिन्दुको वेद पाँच हजार वर्ष अघि लेखिएको भनेर त विज्ञानले पनि प्रमाणित गरिसक्यो हैन ?’

युवाहरु केही बोलेनन ।

‘प्रभु इशुले जिवनकालमा विश्वका कुन कुन ठाउँको भ्रमण गर्नु भयो,’ रमनले अर्को प्रश्न गर्यो ।

यसको पनि युवाहरु सित जवाफ थिएन । उनीहरु आफूलाई थहा नभएको बताए ।

‘प्रभु इशु जीवनकालमा धेरै मध्ये दक्षिण एशियाको पनि भ्रमण गरेका थिए रे जहाँ उनले कृष्णनीति बारे शिक्षा लिएका थिए रे । त्यसलाई पश्चिममा ल्याउँदा तपाईहरुले ‘कृष्णनीति’ लाई ‘क्रिष्ट्यानिटी’ बनाउनु भयो । बाइबल र गीता संगै राखेर दाजेर पढ्नुहोस् । तपाईले कति समानता पाउनुहुनेछ’, रमन आफुले जानेको कुरा सुनायो ।

उसले थप्यो, ‘वास्तवमा कृष्ण, इशु, महम्मद वा बुद्ध कोही पनि भगवान हैनन । यि महामानव हुन जस्ले शान्त, सुसंस्कृत, सभ्य र सम्पन्न मानव समाज निर्माणका लागि आवश्यक आधारहरु हामीलाई सिकाए । यिनको आराधना गर्दा हामीले केही पनि प्राप्त गर्ने हैनौं । यिनीहरुले प्रतिपादन गरेको शिद्धान्त र आदर्शलाइ आत्मासाथ गर्न सक्यौं भने आफ्नो जीवन सार्थक बनाउन सक्छौं, सभ्य मानव समाजको निर्माण गर्न सक्छौं’ ।

रमनको व्याख्या सुने पछि उपस्थित कसैले बोल्ने आँठ गरेन । कोठामा धेरैबेर सुन्यता छायो ।

क्रमश:‍ ……….

Share This Post

One Comment - Write a Comment

Leave a Reply